सामग्रीमा जानुहोस्

राजमाता रानी एलिजाबेथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एलिजाबेथ बोवेस-ल्योँ
रानी एलिजाबेथको आधा शरीर देखिने तेल चित्र (Oil portrait)
राजमाता रानी एलिजाबेथ राजमाताको तेलचित्र, सन् १९८६
संयुक्त अधिराज्यकी रानी
र बेलायती स्वायत्त्योपनिवेश
पदावधि११ डिसेम्बर १९३६ – ६ फेब्रुअरी १९५२
राज्याभिषेक१२ मे १९३७
भारतकी साम्राज्ञी
Tenure११ डिसेम्बर १९३६ – १५ अगस्ट १९४७[]
जन्मएलिजाबेथ एन्जेला मार्गरिट बोवेस-ल्योँ[]
(१९००-०८-०४)४ अगस्ट १९००
हिचिन वा लन्डन, इङ्ल्यान्ड
मृत्यु३० मार्च २००२(2002-03-30) (उमेर १०१)
रोयल लज, विन्डसर, बर्कसायर, इङ्ल्यान्ड
अन्त्येष्टि९ अप्रिल २००२
किङ्ग जर्ज छैठौँ मेमोरियल च्यापल, सेन्ट जर्ज च्यापल, विन्डसर क्यासल
जीवनसाथी
(
वि १९२३; निधन १९५२)
सन्तान
कुलीन परिवारबोवेस-ल्योँ
बाबुक्लाउड बोवेस ल्योँ
आमासेसिलिया क्याभेन्डिस-बेन्टिन्क
हस्ताक्षरएलिजाबेथ बोवेस-ल्योँको हस्ताक्षर

एलिजाबेथ एजेला मार्गरिट बोवेस-ल्योँ[] (४ अगस्ट १९०० – ३० मार्च २००२) आफ्ना पति राजा जर्ज छैठौँको शासनकाल अन्तर्गत सन् १९३६ डिसेम्बर ११ देखि ६ फेब्रुअरी १९५२ सम्म संयुक्त अधिराज्यबेलायती राष्ट्रमण्डल स्वायत्त्योपनिवेशहरूको रानी थिइन्। उनी १५ अगस्ट १९४७ मा ब्रिटिस राज विघटन नभएसम्म भारतकी अन्तिम साम्राज्ञी पनि थिइन्। जर्ज छैठौँको मृत्यु र राजकीय अन्त्येष्टि पश्चात्, उनकी छोरी रानी एलिजाबेथ द्वितीयसँग नाममा द्विविधा नहोस् भन्नका लागि उनलाई आधिकारिक रूपमा राजमाता रानी एलिजाबेथ भनेर चिनिन्थ्यो।

एक बेलायती कुलीन परिवारमा जन्मेकी एलिजाबेथ सन् १९२३ मा राजा जर्ज पाँचौँरानी मेरीका दोस्रो छोरा राजकुमार अल्बर्टसँग विवाह गरेपछि चर्चामा आएकी थिइन्। यो दम्पती र उनीहरूका छोरीहरू, एलिजाबेथ र मार्गरेटले पारिवारिक मूल्य र जनसेवाका परम्परागत आदर्शहरूलाई प्रतिनिधित्व गर्दथे।[] योर्कको डचेसको रूपमा, एलिजाबेथ विभिन्न सार्वजनिक कार्यहरूमा संलग्न हुन्थिन् भने उनी आफ्नो सधैँ मुस्कुराउने स्वभावका लागि परिचित थिइा्।[]

एलिजाबेथका जेठाजु एडवर्ड आठौँले अमेरिकी सम्बन्धविच्छेदित महिला वालिस सिम्पसनसँग विवाह गर्नका लागि एडवर्ड आठौँको पदत्याग गरेपछि सन् १९३६ मा एलिजाबेथका श्रीमानले अप्रत्याशित रूपमा जर्ज छैठौँको रूपमा राजगद्दी सम्हालेका थिए। त्यसपछि एलिजाबेथ रानी बनेकी थिइन्। दोस्रो विश्वयुद्ध सुरु हुनुअघि उनले आफ्ना श्रीमानसँग फ्रान्स र उत्तर अमेरिकाको कूटनीतिक भ्रमण गरेकी थिइन्। युद्धको समयमा, उनको अदम्य साहसले ब्रिटिस जनतालाई नैतिक समर्थन प्रदान गरेको थियो। युद्धपछि, उनका श्रीमानको स्वास्थ्य बिग्रँदै गएर उनको निधन भएपछि एलिजाबेथ ५१ वर्षको उमेरमा विधवा बनेकी थिइन्। उनकी जेठी छोरी, २५ वर्षको उमेरमा नयाँ शासक बनेकी थिइन्।

सन् १९५३ मा रानी मेरीको मृत्यु पछि, एलिजाबेथलाई बेलायती राजपरिवारको मातृकाको रूपमा हेर्न थालिएको थियो। पछिल्ला वर्षहरूमा, उनी परिवारको एक लोकप्रिय सदस्यको रूपमा रहिन्, यहाँसम्म कि अन्य राजपरिवारका सदस्यहरूले सार्वजनिक समर्थन गुमाउँदा पनि उनको लोकप्रियता कायम थियो। उनले आफ्नो मृत्युको केही महिना अघिसम्म सक्रिय सार्वजनिक जीवन बिताएकी थिइन्। १०१ वर्षको उमेरमा, आफ्नी कान्छी छोरी राजकुमारी मार्गरेटको मृत्यु भएको सात हप्तापछि राजमाता एलिजाबेथको मृत्यु भएको थियो।

एलिजाबेथको शवयात्रामा प्रयोग गरिएको रथ। उनको शवपेटीकालाई उनको व्यक्तिगत मानक ध्वज (तल देखाइएको) ले ढाकिएको थियो।

राजमाता रानी एलिजाबेथको मृत्यु सन् २००२ मार्च ३० का दिन दिउँसो ३:१५ बजे १०१ वर्षको उमेरमा विन्डसरको रोयल लजमा भएको थियो। उनको मृत्युको समयमा उनकी जीवित छोरी महारानी एलिजाबेथ द्वितीय उनको साथमा थिइन्। सन् २००१ को क्रिसमसदेखि नै उनी छातीको चिसोबाट पीडित थिइन्। मृत्युको समयमा १०१ वर्ष २३८ दिन पुगेकी उनी तत्कालीन समयमा बेलायती राजपरिवारको सबैभन्दा लामो समयसम्म बाँच्ने सदस्य र १०० वर्षको उमेर नाघ्ने परिवारको पहिलो सदस्य थिइन्।[] पछि, उनकी नन्द राजकुमारी एलेसले सो उमेरलाई उछिनेकी थिइन्, जसको २९ अक्टोबर २००४ मा १०२ वर्षको उमेरमा निधन भएको थियो।[] उनी विश्वकै कुनै पनि राजपरिवारका सबैभन्दा लामो समयसम्म बाँच्ने सदस्यहरूमध्ये एक थिइन्।[]

एलिजाबेथले आफ्ना प्रत्येक बगैँचामा क्यामेलियाका फूलहरू रोपेकी थिइन्। उनको झण्डाले ढाकिएको शवपेटीकालाई विन्डसरबाट वेस्टमिन्स्टर हलमा अन्तिम श्रद्धाञ्जलीका लागि लैजानुअघि, उनको आफ्नै बगैँचाका क्यामेलिया फूलहरूको सजावटी शवपेटीकाको माथि राखिएको थियो।[] वेस्टमिन्स्टर हलमा तीन दिनसम्म राखिएको उनको पार्थिव शरीरलाई करिब २,००,००० मानिसहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए।[] शाही अङ्गरक्षक घोडचढी दस्ता र सशस्त्र बलका अन्य शाखाहरूले शव राखिएको बाकसको चारै कुनामा पहरा दिएका थिए। एक समयमा, उनका चार नातिहरू—राजकुमा चार्ल्स, राजकुमार एन्ड्र्यु, राजकुमार एडवर्डभिकाउन्ट लिनले सम्मान स्वरूप पहरामा उभिएका थिए, जुन राजा जर्ज पाँचौँ समयमा गरिएको राजकुमारहरूको जागरण जस्तै सम्मान थियो।[][१०]

९ अप्रिलमा एलिजाबेथको अन्त्येष्टिको दिन, क्यानडाका गभर्नर अधिकारी एड्रिएन क्लार्कसनले क्यानडालीहरूलाई त्यस दिन एलिजाबेथको स्मृतिमा सम्मान व्यक्त गर्न आह्वान गर्दै एक घोषणा जारी गरेकी थिइन्।[११] अस्ट्रेलियामा, गभर्नर-जनरल पिटर होलिङवर्थले सेन्ट एन्ड्रयूज क्याथिड्रल, सिड्नीमा आयोजित एक स्मारक सेवामा धर्मग्रन्थको पाठ पढेका थिए।[१२]

लन्डनमा, वेस्टमिन्स्टर एबे बाहिर र मध्य लन्डनबाट विन्डसरस्थित एलिजाबेथको अन्तिम विश्राम स्थलसम्मको २३ माइल (३७ किमि) को मार्गमा १० लाखभन्दा बढी मानिसहरूको उपस्थिति थियो। उनलाई राजा जर्ज छैटौँ मेमोरियल च्यापलमा उनका पति र कान्छी छोरीको छेउमा समाधिस्थ गरिएको थियो।[१३] उनको अनुरोध अनुसार, अन्त्येष्टि पछि उनको शवपेटीकामा राखिएको फूलको मालालाई अज्ञात योद्धाको चिहानमा चढाइएको थियो, जसले ७९ वर्षअघिको उनको विवाहको दिनको श्रद्धाञ्जलीलाई स्मरण गराएको थियो।[१४]

  1. उनका पतिको राज्यारोहणदेखि भारतीय स्वतन्त्रता ऐन १९४७द्वारा ब्रिटिस भारतको अन्त्यसम्म। यो पदवीलाई सन् १९४८ जुन २२ का दिन मा त्यागिएको थियो।
  2. 1 2 विवाहको समयमा आधिकारिक कागजातहरूमा थरको योजक चिह्न समावेश गरिएको संस्करण प्रयोग गरिएको भएतापनि परिवारले प्रायः यस्ता योजक चिह्नहरू हटाउने गर्दछ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Shawcross, p. 8
  2. Roberts, pp. 58–59
  3. British Screen News (१९३०), Our Smiling Duchess, London: British Screen Productions।
  4. Walker, Andrew (२० अगस्ट २००३), "The longest-lived Royal in history", BBC News, अन्तिम पहुँच ३० जुन २०१७
  5. Alderson, Andrew (३१ अक्टोबर २००४), "Princess Alice, the oldest ever royal, dies at 102", The Telegraph, मूलबाट १० जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०१७
  6. Coke, Hope (२१ अप्रिल २०२१), "The top 10 longest-living royals in history", Tatler, अन्तिम पहुँच ४ अगस्ट २०२१
  7. Bates, Stephen (३ अप्रिल २००२), "Piper's farewell for Queen Mother", The Guardian, अन्तिम पहुँच १ मे २००९
  8. Lying-in-state, UK Parliament, अन्तिम पहुँच २९ जुन २०१७
  9. Bates, Stephen (९ अप्रिल २००२), "Grandsons hold vigil as public files past", The Guardian, अन्तिम पहुँच २९ जुन २०१७
  10. "Charles returns for second tribute", BBC News, ९ अप्रिल २००२, अन्तिम पहुँच २९ जुन २०१७
  11. Government of Canada Publications (४ अप्रिल २००२), "Proclamation Requesting that the People of Canada Set Aside April 9, 2002, as the Day on Which They Honour the Memory of Our Dearly Beloved Mother, Her Late Majesty Queen Elizabeth the Queen Mother, Who Passed Away on March 30, 2002", Canada Gazette Part II Extra 136 (5), मूलबाट २०१३-०४-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ फेब्रुअरी २०१७
  12. Memorial Service for HM Queen Elizabeth, The Queen Mother, Sydney Anglicans, ९ अप्रिल २००२, अन्तिम पहुँच २ मार्च २०११
  13. Queues at Queen Mother vault, CNN, १० अप्रिल २००२, मूलबाट १७ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मे २००९
  14. Mourners visit Queen Mother's vault, BBC, १० अप्रिल २००२, अन्तिम पहुँच १ मे २००९